काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) का अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
असोजमा भारततर्फ दुई माध्यमबाट विद्युत् बिक्री गरिएको थियो। द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड तथा रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।
गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो।
यस वर्ष असोजमा गत वर्षको सोही महिनाको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ। चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो। उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईएक्समार्फत बिक्री गरिएको थियो।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतको हरियाणा र बिहारमा विद्युत् बिक्री गरिन्छ।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो। बाढीका कारण हरियाणातर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायाममा विद्युत् निर्यात गर्ने पाँचवर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ।
विद्युत् निर्यात क्षमता १ हजार १७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।