कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कास्कीमा सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ । गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा कार्यान्वयन गर्दै आएको उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८२/८३ मा दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यालय प्रमुख डा. ग्रिष्म न्यौपानेले पूर्ण खोप कार्यक्रमले खोरेत, पिपिआर, लम्पी स्किन र रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याएको बताउनुभयो । उहाँका अनुसार नियमित खोपले पशुमा रोग लाग्ने तथा फैलिने जोखिम कम गर्नुका साथै पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा समेत योगदान पुर्याएको छ ।
“पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि विगतको तुलनामा खोरेतलगायत महामारीजन्य रोगको सङ्क्रमण धेरै कम भएको छ । पशुमा रोग फैलिन नदिन समयमै खोप लगाउनु महत्वपूर्ण हुन्छ,” डा. न्यौपानेले भने ।
कार्यालयका अनुसार गत आवमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७ र रेबिजविरुद्ध आठ हजार ४२९ मात्रा खोप लगाइएको थियो । यसैगरी क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको कार्यालयले जनाएको छ ।
पूर्ण खोप कार्यक्रमका लागि गत आवमा रु. एक करोड ५० लाख बजेट विनियोजन गरिएकामा रु. एक करोड ३४ लाख ९२ हजार ७५० खर्च भएको थियो । कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लामा १७२ जना खोपकर्तालाई परिचालन गरिएको थियो ।
डा. न्यौपानेले खोप कार्यक्रमले पशुपालकलाई रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिन पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको बताए ।
पशुमा महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो । उनका अनुसार पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम न्यूनीकरण गर्न पनि पशु स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ ।