राजविराज । तराई–मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरीलगायत बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ।
अत्यधिक मेहनत गर्नुपर्ने तर आम्दानी न्यून हुने भएपछि यस समुदायका मानिसलाई बाँसका सामग्री बिक्रीबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न कठिन हुँदै गएको हो। दिनप्रतिदिन बढ्दो महँगी र सीमित आम्दानीका कारण उनीहरूको परम्परागत पेसा सङ्कटमा परेको छ।
सप्तरीको तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकले विवाह तथा चाडपर्वको समयमा केही आम्दानी भए पनि अन्य समयमा परिवारको छाक टार्नसमेत समस्या हुने गरेको बताए। “विवाह र चाडपर्वका बेला आम्दानी ठिकै हुन्छ। तर, अन्य समयमा दुई छाक टार्नसमेत मुस्किल हुन्छ। बाँसका सामग्री बनाउन धेरै समय लाग्छ, तर मेहनतअनुसारको मूल्य पाइँदैन,” उनले भने।
ढक्की, कोनियालगायत सामग्री बनाउन एउटा बाँस किन्न दुई सयदेखि तीन सय रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए। एउटा बाँसबाट दिनभरिमा तीनवटा सामग्री तयार पार्दा करिब एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। बाँस खरिदलगायत खर्च कटाउँदा अनुकूल समयमा दैनिक सात सय रुपैयाँभन्दा बढी बचत हुने भए पनि अन्य समयमा सामग्री बिक्री नहुँदा जीविकोपार्जनमा समस्या हुने गरेको उनको भनाइ छ।
भजुका अनुसार उनका छोराहरूले पनि यही पेसा अपनाएर जसोतसो परिवार पाल्दै आएका छन्। तर, मेहनत धेरै र आम्दानी कम हुने भएकाले नयाँ पुस्ता भने वैकल्पिक पेसातर्फ आकर्षित हुन थालेको छ।
आफ्नो समुदायमा प्रचलित परम्परागत नियमले पनि व्यवसाय विस्तार गर्न कठिन भएको उनले बताए। “हाम्रो समुदायमा तोकिएको क्षेत्रबाहिर गएर आफूले बनाएका सामग्री बिक्री गर्न पाइँदैन। यसले गर्दा बजार विस्तार गर्न सकिएको छैन र पेसामा टिकिरहन पनि समस्या भएको छ,” उनले भने।
राजविराज नगरपालिका–१३ की रिना मरिकले पनि समुदायको परम्परागत नियम र मौसमी बजारका कारण बाँसका सामग्री बनाउने पेसाबाट नियमित आम्दानी गर्न नसकिएको बताइन्।
“श्रीमान् अपाङ्ग हुनुहुन्छ र काम गर्न सक्नुहुन्न। मैले काम गरेर कमाएको पैसाले परिवार पाल्नुपर्छ। बाँसका सामग्रीको कारोबार सिजनमा मात्रै हुने भएकाले अन्य समयमा छाक टार्नसमेत समस्या हुन्छ। त्यसैले सिजनबाहेकका बेला अर्को काम गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ,” उनले भनिन्।
दलित अभियन्ता युक्ति मरिकले पनि उपयुक्त आम्दानीको अभावमा मरिक समुदायका मानिस आफ्नो पुर्ख्यौली पेसाबाट विस्थापित हुने अवस्था आएको बताए।
उनका अनुसार बाँसका सामग्री बनाउने सीप र परम्परालाई जोगाउन समुदायको आर्थिक अवस्था सुधार गर्नु आवश्यक छ। यसका लागि सरकारले परम्परागत पेसालाई व्यावसायिक रूप दिन, बजारको पहुँच विस्तार गर्न र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न ध्यान दिनुपर्ने उनले बताए।
पुर्ख्यौंदेखि अपनाउँदै आएको सीप र पेसालाई निरन्तरता दिन चाहने मरिक समुदायलाई उचित मूल्य, बजार र आर्थिक अवसर उपलब्ध गराउन सके परम्परागत हस्तकलाको संरक्षणसँगै उनीहरूको जीविकोपार्जनमा समेत सुधार ल्याउन सकिने देखिन्छ।