काठमाडौं। काठमाडौं महानगरपालिकाले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्र बनाएको छ । कालोबजारी, म्याद सकिएका तथा गुणस्तरहीन वस्तुको बिक्री र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न महानगरले बिहीबार सामाखुशीलगायत क्षेत्रमा अनुगमन गरेको हो ।
दसैँ, तिहार र छठ नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुनसक्ने विकृति रोक्न महानगरले विशेष टोली परिचालन गरेको जनाएको छ ।
अनुगमनका क्रममा टोलीले पसल तथा व्यावसायिक प्रतिष्ठानमा खाद्य वस्तुको म्याद, मूल्यसूची र व्यवसाय दर्ता प्रमाणपत्र जाँच गरेको थियो । नियमविपरीत व्यापार गरिरहेका व्यवसायीलाई सचेत गराउँदै महानगरले कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
महानगरका अनुसार उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइनेछ । महानगरले उपभोक्तालाई सामान खरिद गर्दा लेबल, उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ ।