काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमिततासम्बन्धी आरोपको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन्।
बुधबार सिंहदरबारमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले आफू जोडिएका आर्थिक विषयमा उच्चस्तरीय छानबिनका लागि तयार रहेको बताए।
उनले केही सञ्चारमाध्यम र व्यक्तिले आफूलाई जोडेर विभिन्न आरोप लगाएको भन्दै प्रमाण भए सार्वजनिक गर्न र आरोप निराधार भए आरोप लगाउनेलाई समेत जवाफदेही बनाउनुपर्ने बताए।
‘ममाथि उठेका सबै आरोपको निष्पक्ष छानबिन होस् भन्ने मेरो माग हो,’ उनले भने।
सुनारले आफूलाई पार्टीको ‘हेडक्वाटर’बाट परिचालित समूहले नियोजित रूपमा बदनाम गर्न खोजेको आरोप लगाए। आफू माइतीघरमा बसेर समेत छानबिनका लागि तयार रहेको भन्दै उनले आफ्नो घर, सम्पत्ति र आर्थिक स्रोतको अनुसन्धान गर्न चुनौती दिए।
दलित समुदायबाट पार्टी खोल्नका लागि ६० करोड रुपैयाँ उठाएको भन्ने चर्चाप्रति असन्तुष्टि जनाउँदै उनले त्यसको समेत हिसाब खोजिनुपर्ने बताए। भारत, अमेरिका वा अन्य देशबाट रकम आएको, विभिन्न व्यक्ति तथा संस्थासँग सम्बन्ध रहेको, बालुवाटारमा घर किनेको वा सुन व्यवसायमा लगानी गरेको जस्ता आरोपमाथि पनि छानबिन गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।
आफू मात्र नभई आरोप लागेका सबै व्यक्ति र संस्थाको सम्पत्ति तथा आर्थिक स्रोत निष्पक्ष रूपमा छानबिन हुनुपर्ने उनको भनाइ छ।