काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि ७ हजार ११४ जना मतदाताको नामावली सार्वजनिक गरेको छ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनलाई लक्षित गर्दै समितिले मतदाताको नामावली प्रकाशन गरेको हो।
समितिका अनुसार प्राविधिक वा प्रक्रियागत कारणले नामावलीमा छुटेका मतदाताको नाम अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिनेछ।
प्रकाशित नामावलीमा कुनै दाबी, विरोध वा संशोधन गर्नुपर्ने भए संशोधित निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिको कार्यालयमा निवेदन दिन समितिले आग्रह गरेको छ।
त्यस्तै, दाबी–विरोध तथा उम्मेदवारी मनोनयनपत्र दर्तासम्बन्धी कार्यक्रम संशोधित कार्यतालिकाअनुसार सञ्चालन हुने समितिले जनाएको छ। निर्वाचनका अन्य कार्यक्रम भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सञ्चालन हुने जनाइएको छ।