मनाङ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भएसँगै मनाङ पुगेका पर्यटक अविरल वर्षा र बाढीपहिरोका कारण बीच बाटोमै रोकिएका छन्। आइतबारदेखि परेको लगातार वर्षाका कारण माथिल्लो मनाङमा हिमपात भएको छ भने तल्लो मनाङमा मस्र्याङ्दी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएको छ।
मस्र्याङ्दी नदीमा आएको बाढीका कारण बाटो अवरुद्ध भएपछि माथिल्लो मनाङ पुगेका पर्यटक त्यहीँ रोकिएका छन् भने चामे हुँदै तल्लो क्षेत्रमा रहेका पर्यटक पनि अघि बढ्न सकेका छैनन्। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाई मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार थोराङ्ला पास गर्ने क्रममा रहेका पर्यटकसमेत हिमपात बढेपछि मनाङ फर्किएका छन्।
भुजेलका अनुसार माथिल्लो मनाङ पुगेका २२६ जना विदेशी पर्यटक दर्ता भएका छन्। तीमध्ये ४४ जना फर्किसकेका छन्। यस्तै, थोराङ्ला पास गर्ने क्रममा रहेका करिब १५० भन्दा बढी पर्यटक बाक्लो हिमपात भएपछि मनाङ फर्किएका छन्।
“माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,” भुजेलले भने, “करिब १५० भन्दा बढी पर्यटक थोराङ्ला पास गर्ने क्रममा हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन्। मनाङ गाउँमा पर्यटक सुरक्षित छन्।”
थोराङ्ला पास गर्ने पर्यटकलाई मुस्ताङबाट हेलिकप्टरमार्फत फर्कन सक्ने भएकाले जान अनुमति दिइएको उनले बताए। बिरामी तथा प्रवेशाज्ञाको अवधि सकिएका केही पर्यटकलाई भने हेलिकप्टरमार्फत उद्धार गरी फर्काइएको छ।
हिमपातका बेला मनाङ गाउँमा पर्यटकको चाप बढेको भए पनि सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएकाले अहिले त्यहाँ रहेका पर्यटकको यकिन सङ्ख्या पत्ता लगाउन कठिन भएको भुजेलले बताए।
एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार धारापानी चेकपोस्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० जना विदेशी पर्यटकको दर्ता भएको छ। अविरल वर्षा, बाढी र पहिरोका कारण तीमध्ये १४६ जना फर्किएका छन्।
“माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका पर्यटक पनि यहीँ छन्,” गुरुङले भने, “मस्र्याङ्दी नदीले सडकको ट्र्याक नै कटान गरेपछि अहिले फर्कन सक्ने अवस्था छैन। पर्यटक यहीँ रोकिएका छन्।”
अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले विभिन्न स्थानमा सडक कटान गरेको छ। नदीको कटानका कारण सडक भासिएपछि कतिपय ठाउँमा आवतजावत पूर्णरूपमा प्रभावित भएको छ।
भासिएका सडकमा नयाँ ट्र्याक निर्माण नभएसम्म पर्यटक तथा स्थानीयवासीलाई आवतजावत गर्न कठिन हुने अवस्था छ। सडकमा क्षति पुगेका कारण उद्धार तथा पुनर्निर्माणका लागि आवश्यक उपकरणसमेत प्रभावित क्षेत्रमा पुर्याउन नसकिएको जनाइएको छ।