काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरेका छन्। राहत तथा उद्धारमा सहयोग गर्न चाहने संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा खटिन लागेको एमालेको टोलीलाई बिदाइ गर्दै ओलीले उद्धारमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाए। ११–१२ दिनपछि पनि मानिसहरू सुरुङबाट आफैं बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको उनको भनाइ छ।
राहत तथा उद्धारमा खटिएका स्वयंसेवकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिकलाई रोक्न नहुने उनले बताए।
सेना–प्रहरीलाई नियम, कानून र कर्तव्यअनुसार काम गर्न आग्रह गर्दै ओलीले ‘अनावश्यक, अनुचित आदेश पालना नगर्नुस्’ भने।
जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने बताउँदै ओलीले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने बताए।