काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट परिस्थितिलाई हेर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे । उनले विपत्तिको संवेदनशील समयमा राज्यले देखाएको सक्रियता र व्यवस्थापन सकारात्मक रहेको बताए ।
उनले भने, ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन। अहिले राज्यले भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ। यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय छ।’
प्रतिकूल मौसम तथा सडक अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर प्रभावित क्षेत्रमा पुगेर गरेको कामको पनि उनले उच्च प्रशंसा गरे ।
लामिछानेले यसपटकको हवाई उद्धार प्रयास विगतको तुलनामा व्यवस्थित र व्यापक रहेको उल्लेख गर्दै विपत्तिग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन खोजिएको बताए ।
उनले राजनीतिक खिचातानीप्रति असन्तुष्टि जनाउँदै विपत्तिको समयमा राजनीतिक स्वार्थभन्दा नागरिकको जीवनरक्षा प्राथमिकतामा हुनुपर्ने धारणा राखे ।
‘म देखिरहेको छु, अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिसहरू राजनीतिक रोटी सेक्न लागिपरेका छन्। अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो,’ उनले भने ।
लामिछानेले विपत्तिको कठिन समयमा राज्यका सबै संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको उद्धार तथा राहत प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।