काठमाडौं। नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको कार्यतालिका हेरफेर गरेको हो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले धादिङ, नुवाकोट, नवलपरासी र चितवनलगायत जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षति तथा राष्ट्रिय शोकको अवस्थालाई दृष्टिगत गरी वडा अधिवेशन सारिएको बताए ।
यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन अब असोज ३ र ४ गते हुनेछ । गाउँ तथा नगर अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्णय भएको छ ।
काँग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यथावत् राखिएको छ । जिल्ला र प्रदेश अधिवेशनको मिति भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
विदेशस्थित २७ जनसम्पर्क समितिमध्ये १८–१९ वटाको महाधिवेशन सम्पन्न भइसकेको र बाँकी समितिलाई असोज १० गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको खड्काले बताए ।
निर्वाचन समितिले परिमार्जित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रियामा सहभागी हुन क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका कार्यकर्तालाई आह्वान गरेको छ ।