काठमाडौँ । नेपाल हुलाकले दुर्गम तथा ग्रामीण क्षेत्रमा सरकारी कुरियर सेवा विस्तार गरेको योगदानस्वरूप एसिया प्रशान्त हुलाक सङ्घ (एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ ।
थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म सम्पन्न १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा उक्त सम्मान प्रदान गरिएको हो । सरकारी कुरियर सेवाका रूपमा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्न नेपाल हुलाकले गरेको पहलको कदर गर्दै अवार्ड प्रदान गरिएको विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिइन् ।
सरकारले शासकीय सुधारका १०० कार्यसूचीमार्फत हुलाक सेवालाई परम्परागत प्रणालीबाट आधुनिक सरकारी कुरियर सेवामा रूपान्तरण गर्ने नीति लिएको छ । सोहीअनुसार हुलाकले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी रिपोर्टलगायत महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्याउँदै आएको छ ।
विभागका अनुसार नागरिकलाई घरमै सरकारी कागजात उपलब्ध गराउने सेवा अवार्ड प्राप्तिको महत्वपूर्ण आधार बनेको हो ।
कंग्रेसमा महानिर्देशक पङ्गेनीको नेतृत्वमा नेपालबाट तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । प्रतिनिधिमण्डलले नेपालको हुलाक प्रणालीको वर्तमान अवस्था, आधुनिकीकरणका प्रयास, हालसम्म भएका सुधार तथा सरकारका प्राथमिकताबारे विभिन्न सत्रमा जानकारी गराएको थियो ।
महानिर्देशक पङ्गेनीले नेपालको कठिन भौगोलिक अवस्थाका कारण दुर्गम क्षेत्रमा हुलाक सेवा सञ्चालनमा चुनौती रहे पनि सडक तथा सञ्चार पूर्वाधार कमजोर भएका स्थानमा समेत भरपर्दो सेवा पुर्याउन सुधारका काम अघि बढिरहेको बताइन् । नागरिकलाई सरकारी सेवा सरल, छिटो र भरपर्दो रूपमा घरदैलोसम्म पुर्याउने उद्देश्यले हुलाकको भूमिका विस्तार भइरहेको उनको भनाइ छ ।
कंग्रेसमा नेपालले सीमापार विद्युतीय व्यापार तथा क्षेत्रीय हुलाक ढुवानी सञ्जाल विस्तारको विषयसमेत उठाएको थियो । स्थानीय तथा मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन हुलाक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने नेपालले जनाएको हो ।
विशेषगरी साना उद्यमी, किसान तथा ग्रामीण समुदायका उत्पादनलाई बजारसँग जोड्न हुलाकले ढुवानीको सेतुका रूपमा काम गर्न सक्ने र एसिया प्रशान्त क्षेत्र हुँदै विश्व बजारसम्म नेपाली उत्पादन पुर्याउन सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको पङ्गेनीले बताइन् ।
कंग्रेसको पूर्ण बैठकमा नेपाललाई विशेष समय दिइएको थियो । सो अवसरमा पङ्गेनीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै विपद्का समयमा सडक, पुल तथा दूरसञ्चार सेवा अवरुद्ध हुँदा हुलाक तथा सञ्चार सञ्जालको महत्व अझ बढ्ने बताइन् ।
विपद्का बेला सूचना, राहत सामग्री, औषधि तथा आवश्यक सरकारी सेवा प्रभावित नागरिकसम्म पुर्याउन हुलाकको पहुँच महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कंग्रेसमा नेपालले आधुनिक, भरपर्दो, समावेशी तथा नागरिककेन्द्रित हुलाक प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतासमेत औँल्याएको छ । प्रविधि हस्तान्तरण, कर्मचारीको क्षमता विकास, डिजिटल प्रणाली, विद्युतीय व्यापार, वातावरणमैत्री प्रविधि तथा विपद् प्रतिरोधी हुलाक पूर्वाधार निर्माणमा सहयोग गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।
१४औँ एपीपीयू कंग्रेसमा एसिया प्रशान्त क्षेत्रका ३२ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए । कंग्रेसमा हुलाक सेवाको आधुनिकीकरण, डिजिटल रूपान्तरण, सीमापार व्यापार, हुलाक ढुवानी तथा सदस्य राष्ट्रबीच सहकार्यका विषयमा छलफल भएको थियो ।