चितवन । डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ ।
मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा ‘ट्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ । त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ ।
सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ । डिभिजन कार्यालयका अनुसार, बच्चा खोरमा परेपछि क्यामरा ट्यापिङमा एक माउ र अर्को बच्चासँगै बाहिर बसेको देखिएको थियो । त्यस ठाउँको झाडी फाँडेपछि माउ र बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर क्षेत्रमा गएको अनुमान छ । पछिल्लो समय क्याम्पस परिसरमा पनि खोर र क्यामराको व्यवस्थापन गरी नियमित अनुगमन गरिएको छ ।
भरतपुर महानगरपालिका–११ स्थित आँपटारीमा विद्युत् ‘स्टेशन’ क्षेत्रमा केही दिन पहिले कर्मचारीले बाघ आएको सूचना दिएपछि क्यामरा जडान गरिएको छ । बाघले स्थानीयको बाख्रा खाएको थियो ।
बाघले बाख्रा खाएको सूचनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयका कर्मचारीको टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । टोलीले गरेको अनुगमनपछि कार्यालयको प्रवेशद्वार र भित्र क्यामरा जडान गरिएको छ ।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले तीन वटै ठाउँमा क्यामरा जडान र खोर राख्ने काम भएको बताउनुभयो । त्यस क्षेत्रमा बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरिने व्यवस्था मिलाइएको छ ।
यसैबीच, शारीरिक रूपमा कमजोर चितुवा र बाघले बच्चा हुर्काउने समयमा जंगल बाहिर जाने विज्ञहरूको भनाइ छ । जङ्गलभित्र अन्य जनावरबाट बच्चालाई आक्रमण हुन सक्ने भयले उनीहरू बाहिर गएको हुन सक्ने अनुमान छ ।
त्यस्ता हिंस्रक जनावरलाई जंगलभित्र सिकार गर्न गाह्रो भएपछि मानव बस्ती नजिक आई घरपालुवा जनावरको सिकार गर्ने गरेका घटना पाइएको छ ।