भियन्टियान । बौद्ध वर्षावास समापन तथा परम्परागत डुङ्गा दौड महोत्सवका कारण लाओसका नदी किनारमा उत्सवमय चहलपहल बढेको छ। धार्मिक परम्परा, सांस्कृतिक गतिविधि र सामुदायिक एकताको प्रतीक मानिने पर्वमा स्थानीय बासिन्दा तथा पर्यटक सहभागी भएका छन्।
यस वर्ष अक्टोबर २६ मा परेको वर्षावास समापनका अवसरमा बिहानैदेखि मन्दिरमा धार्मिक गतिविधि भएका थिए। श्रद्धालुहरू पुण्य कमाउने उद्देश्यले मन्दिर पुग्ने, भिक्षुहरूलाई भिक्षादान गर्ने र भोजन अर्पण गर्ने गर्छन्।
साँझपख नदी किनारमा भेला हुने मानिसहरूले फूल, मैनबत्ती र धूपले सजाइएका केराका पातबाट बनेका साना डुङ्गा नदीमा प्रवाहित गर्छन्। नदीप्रति सम्मान प्रकट गर्ने यस परम्परालाई दुर्भाग्य र नकारात्मकता पखाल्ने प्रतीकका रूपमा समेत लिने गरिन्छ।
वर्षावास समापनसँगै लाओसका विभिन्न क्षेत्रमा परम्परागत डुङ्गा दौड महोत्सव पनि आयोजना गरिन्छ। राजधानी भियन्टियानमा मंगलबार आयोजित महोत्सवले स्थानीय व्यापारीलाई आफ्ना उत्पादन बिक्री गर्ने अवसर दिएको छ।
महोत्सवमा सहभागी आगन्तुकहरूले परम्परागत सामग्री, स्थानीय परिकार र सांस्कृतिक गतिविधिमार्फत लाओसको संस्कृति तथा जीवनशैली अनुभव गरेका छन्।