काठमाडौं । काठमाडौं जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा अब तोकिएको र व्यवस्थित धुम्रपान क्षेत्रबाहेक जथाभावी हुक्का तथा चुरोट सेवन गर्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई प्रचलित कानुनअनुसार धुम्रपान क्षेत्र (स्मोकिङ जोन) को व्यवस्था गर्न निर्देशन दिएको हो। धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा असर पुग्ने गरी अव्यवस्थित रूपमा धुम्रपान गराइएको र कानुनी व्यवस्था कार्यान्वयन नभएको भन्दै सर्वसाधारणबाट गुनासा आएपछि प्रशासनले कडाइ गरेको जनाएको छ।
सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार अब होटल तथा रेस्टुरेन्टले धुम्रपान गर्न मिल्ने र नमिल्ने क्षेत्र स्पष्ट रूपमा छुट्याएर संकेत गर्नुपर्नेछ। धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द भएको हुनुपर्ने र त्यहाँबाट निस्कने धुवाँ वा यसको प्रभाव अन्य ग्राहकसम्म नपुग्ने व्यवस्था मिलाउनुपर्ने प्रशासनले स्पष्ट गरेको छ।
प्रशासनले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित अनुगमन निकायबाट जुनसुकै बेला होटल तथा रेस्टुरेन्टको निरीक्षण गरिने जनाएको छ। अनुगमनका क्रममा कानुन उल्लंघन गरेको पाइए सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामार्फत सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।