हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आज सूचना जारी गर्दै भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा पहिरो जाने जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेका छन्।
प्रशासनले पाकेको धानबाली तथा अन्य कृषि उपज सुरक्षित रूपमा भित्र्याउन र वर्षा भइरहेका बेला बाली नकाट्न किसानलाई आग्रह गरेको छ। त्यस्तै, नदी तथा खोला नतर्न, माछा मार्ने, दाउरा सङ्कलन गर्ने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न पनि अनुरोध गरिएको छ।
भारी वर्षाले सडक यातायात प्रभावित हुन सक्ने भएकाले त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्ग तथा ग्रामीण सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न र यात्रा गर्नुपर्ने अवस्थामा सडकको अवस्था बुझेर मात्र निस्कन सूचनामा उल्लेख छ।
त्यसैगरी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई सुरक्षित स्थानमा राख्न र चौपायाको सुरक्षामा समेत ध्यान दिन आग्रह गरिएको छ। विपद्का बेला आवश्यक पर्न सक्ने महत्त्वपूर्ण कागजात सुरक्षित राख्न पनि प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।