सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई शपथ गराएका हुन्।
प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
यद्यपि, सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डामा सहमति हुन नसक्दा शाहीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्। मन्त्री नियुक्तिको प्रक्रिया भने दलहरूबीच सहमति भएपछि अघि बढाइने जनाइएको छ।