चितवन।पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डअन्तर्गत घोप्टेभिरमा पहिरोको जोखिम न्यूनीकरण गर्न थप तीन दिन लाग्ने भएको छ। अप्ठेरो भूगोल र जोखिमपूर्ण अवस्थाका कारण निर्धारित काम सम्पन्न गर्न बढी समय लागेको हो।
नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार थप समस्या नआए आगामी तीन दिनभित्र जोखिमपूर्ण भाग हटाउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गत शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहिरोको जोखिम रहेका भाग हटाउने काम भइरहेको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरी माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झन्डै १०० मिटर माथि डाँडामा मेसिन पुर्याएर जोखिमपूर्ण भाग काट्ने काम भइरहेको छ। जोखिम उच्च भएकाले कामको प्रगति अपेक्षाकृत सुस्त भएको उनले बताए।
मंगलबार मात्रै माथिल्लो ढिस्को खस्दा स्काभेटर पुरिएको थियो। पहिरो पन्छाएर पुनः काम सुरु गरिएको छ। सम्भव भएसम्म थप एउटा मेसिन डाँडामा पुर्याएर कामलाई गति दिने तयारी भइरहेको नेपालले जानकारी दिए।
यसैबीच, सडक बन्द भएको समयलाई उपयोग गर्दै चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोला क्षेत्रमा सडक विस्तारको कामसमेत अघि बढाइएको छ।
उक्त क्षेत्रमा १०० मिटर लम्बाइको सडकलाई थप दुई मिटर चौडा गर्न स्काभेटर तथा लोडर प्रयोग गरी भित्तो काट्ने काम भइरहेको छ।