ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको न्यायमा पहुँच सुनिश्चित गर्नुका साथै आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताएकी छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बादीले हिंसापीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि न्याय प्रणालीलाई सहज, छिटो, छरितो र कम खर्चिलो बनाउनुपर्ने धारणा राखिन् ।
उनले हिंसापीडितले न्याय प्राप्त गर्न भोग्नुपरेका सामाजिक तथा आर्थिक अवरोध हटाउनुपर्नेमा जोड दिइन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको तथ्याङ्क रहेको उनले उल्लेख गरिन् ।
हिंसाबाट प्रभावितमध्ये ५८ प्रतिशतले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहलसमेत नगरेको तथ्य प्रस्तुत गर्दै उनले सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायता अभाव र आर्थिक परनिर्भरता न्याय प्राप्तिका प्रमुख बाधक रहेको बताइन् ।
मन्त्री बादीका अनुसार लैङ्गिक हिंसाले महिलाको शिक्षा, रोजगारी, उत्पादकत्व र आयआर्जनमा प्रत्यक्ष असर पार्नुका साथै स्वास्थ्य उपचार, कानुनी प्रक्रिया र मनोसामाजिक परामर्शमा समेत आर्थिक भार थप्ने गरेको छ ।
सरकारले लैङ्गिक हिंसाविरुद्ध राष्ट्रिय कार्ययोजना तयार गरी पीडितको उद्धार, संरक्षण र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । साथै निःशुल्क कानुनी सहायता, सुरक्षित आवास गृह तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा विस्तार भइरहेको उनको भनाइ थियो ।
लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र निजी क्षेत्रसहित सबै सरोकारवालाको सहकार्यबाट हिंसामुक्त तथा आर्थिक रूपमा सबल समाज निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् ।
उनले हिंसापीडित महिलालाई निःशुल्क कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श, पुनःस्थापना र आर्थिक सशक्तीकरणका अवसर उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।