काठमाडौँ – सुनसरीमा विकसित पछिल्लो तनावपूर्ण अवस्था र शान्ति–सुरक्षाको विषयमा छलफल गर्न सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक सम्पन्न भएको छ। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सुनसरीलगायत प्रभावित क्षेत्रमा शान्ति स्थापना, संयम र सामाजिक सद्भाव कायम राख्न सबै दलको साझा अपिलसहित संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिए।
बैठकमा सहभागी नेताहरूले संवेदनशील परिस्थितिमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै सरकारले जिम्मेवार र प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बैठकमा सुनसरीसहित विभिन्न क्षेत्रमा देखिएको तनाव न्यूनीकरण, शान्ति–सुरक्षा सुदृढीकरण तथा भीड नियन्त्रणका विषयमा गम्भीर छलफल भएको बताए। उनले सरकार शान्ति–सुरक्षा कायम गर्न किन प्रभावकारी हुन सकेन भन्ने विषयमा सहभागी दलहरूले गम्भीर चासो व्यक्त गरेको जानकारी दिए।
यसअघि बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटको समयमा सरकारको कार्यशैली र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका थिए।