खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई पूर्वप्रधानाध्यापक बिन्दा थापाले ट्र्याकसुट प्रदान गरेकी छन् ।
विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई उनले बुधबार आफ्नै व्यक्तिगत खर्चमा न्यानो कपडा वितरण गरेकी हुन् ।
शिक्षण पेसाबाट अनिवार्य अवकाश लिएकी थापाले विद्यार्थीका लागि एक लाख २३ हजार ५०० रुपैयाँ बराबरको ट्र्याकसुट उपलब्ध गराएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग गरिएको थापाले बताइन् । आवश्यक पोसाक तथा शैक्षिक सामग्रीको अभावले विद्यार्थीको नियमित विद्यालय उपस्थितिमा असर पर्न सक्ने भएकाले व्यक्तिगत खर्चमा ट्र्याकसुट वितरण गरेको उनको भनाइ छ ।
‘विद्यार्थीलाई आवश्यक सामग्री तथा पोसाक उपलब्ध गराउने भन्दै कतिपयले आश्वासन मात्रै दिने गरेका थिए । आश्वासनमा सीमित नरही आफ्नै खर्चमा ट्र्याकसुट उपलब्ध गराएकी हुँ,’ उनले भनिन् ।
आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थापाले आफ्नो सानो सहयोगले विद्यार्थीको शैक्षिक उन्नयनमा हौसला मिल्ने अपेक्षा व्यक्त गरिन् ।
विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री जुटाउन कठिन हुने गरेको छ । यस्तो अवस्थामा पूर्वप्रधानाध्यापक थापाले गरेको सहयोगले विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास विद्यालयले लिएको छ ।
थापाले सिद्धेश्वरी आधारभूत विद्यालयमा ३४ वर्ष शिक्षण सेवा गरेकी थिइन् । उनले १४ वर्ष विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।