काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत हुने ठगी, ह्यारेसमेन्ट, बुलिङ, चरित्र हत्या तथा भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकारले बलियो कानुनी आधार तयार गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। सरकारले तयार गरिरहेको आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत तथा भ्रामक सूचना प्रवाह नियन्त्रण गर्ने प्रावधान समेटिएको र ती विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
‘यो अत्यन्तै संवेदनशील विषय हो, तसर्थ सरोकारवालासँगको व्यापक छलफलपछि मात्र यसको दुरुपयोग रोक्न सकिने बलियो कानुनी आधार तयार गरिरहेका छौँ,’ मन्त्री तिमिल्सिनाले भने, ‘पत्रकारितालाई नियन्त्रण गर्ने नभई थप मर्यादित र जिम्मेवार बनाउन हामीले कानुन आवश्यक ठानेका छौँ।’
आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रममार्फत सामाजिक सञ्जालमा प्रवाह हुने सामग्रीको तथ्य जाँच (फ्याक्ट चेक) अघि बढाइएको उनले बताए। नियतवश गलत र प्रमाणविहीन सूचना फैलाउने सञ्चारगृह तथा व्यक्तिलाई जवाफदेही बनाउनुपर्ने मागमा सरकार सकारात्मक रहेको उनको भनाइ छ।
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि गृह मन्त्रालय र साइबर ब्युरोसँग निरन्तर समन्वय भइरहेको पनि उनले जानकारी दिए।