भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा खेती गरिएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन् । खुर्सानी फल्ने, पाक्ने र बजारमा बिक्री गर्ने समयमा रोग तथा किराको सङ्क्रमण बढेपछि कृषकले उत्पादनमा क्षति व्यहोर्नुपरेको छ ।
भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठका अनुसार खुर्सानीका बोटमा कोत्रे अर्थात् डढुवा रोग लागेर आधा भाग सुक्ने समस्या देखिएको छ । रोगको सङ्क्रमण सुरु भएको एक साताभित्रै बारीका खुर्सानीका बोट पूर्ण रूपमा नष्ट हुने अवस्था आउने गरेको उनले बताए । विशेषगरी खुर्सानी पाक्ने र बिक्रीका लागि योग्य हुने समयमा रोगको प्रकोप बढी देखिने गरेको उनको भनाइ छ ।
रोगका कारण वर्षभरि गरेको मेहनत खेर जाने अवस्था आएको श्रेष्ठले बताए । खुर्सानी बोटमै रातो पारेर पकाउँदा डढुवाले बढी असर गर्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन् । बोटमै खुर्सानी रातो बनाएर राख्न नसकिने अवस्था रहेको उनको गुनासो छ ।
स्थानीय कृषक सम्झना प्रधानका अनुसार डढुवा रोगसँगै खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने जस्ता समस्या पनि देखिएका छन् । एकैपटक विभिन्न रोग तथा किराको सङ्क्रमण बढ्दा उत्पादन प्रभावित भएको उनले बताइन् ।
“खुर्सानीमा डढुवा रोगको महामारी देखिएपछि हामी चिन्तामा परेका छौँ,” उनले भनिन्, “डढुवा रोगले सबैभन्दा बढी आर्थिक क्षति पु¥याएको छ । खुर्सानी बारी नै सखाप पारेको अवस्था छ ।”
रोग एउटा बोटबाट अर्को बोटमा तीव्र रूपमा फैलिने भएकाले थप क्षति रोक्न किसानले सङ्क्रमित तथा बिग्रिएका बोट उखालेर नष्ट गर्न थालेका छन् । केही दिनमै रोगले पूरै बारी प्रभावित पार्ने भएकाले नियन्त्रण गर्न कठिन भइरहेको कृषकको भनाइ छ ।
भोजपुरमा पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी हुने भएपछि साना तथा मझौला किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । तर, उत्पादनको समयमा रोग तथा किराको प्रकोप बढेपछि आम्दानी घट्ने चिन्ता थपिएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालले खुर्सानीमा मुख्य समस्या देखिएका क्षेत्रमा स्थलगत तालिम सञ्चालन गर्नुका साथै विषादीको प्रयोग र रोग रोकथामका उपायबारे किसानलाई जानकारी दिने काम भइरहेको बताए । पछिल्लो समय जिल्लामा खुर्सानीमा डढुवा रोगको समस्या बढ्दै गएको उनले जानकारी दिए ।
बरालका अनुसार चालु वर्ष भोजपुर जिल्लाभर करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गत आर्थिक वर्षमा जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । उक्त उत्पादनबाट जिल्लामा २३ करोड रुपैयाँ भित्रिएको उनले बताए ।
भोजपुरको पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । ती क्षेत्रबाट उत्पादित खुर्सानी स्थानीय बजारका साथै धरान, विराटनगर र काठमाडौँलगायतका सहरमा निकासी हुने गरेको छ ।