काभ्रेपलाञ्चोक । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमाथिको पक्की पुल निर्माण छ वर्षदेखि अलपत्र परेको छ ।
काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रअन्तर्गत भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच सहज बनाउने उद्देश्यले पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ भदौ १० गते सम्झौता भएको थियो ।
सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् २०८० जेठ २ गतेसम्म पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, निर्माण व्यवसायीले समयमै काम अघि नबढाएपछि आयोजना लामो समयदेखि अलपत्र अवस्थामा पुगेको हो ।
सडक विभागका इन्जिनियर निरोज महर्जनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न नभएपछि विभागीय निर्णयबाट २०८१ वैशाख २० गते पुल निर्माणका लागि थप २३ महिना २५ दिन म्याद थप गरिएको थियो । तर, थपिएको अवधिमा पनि निर्माण व्यवसायीले अपेक्षित काम अघि बढाउन नसकेको उहाँले बताउनुभयो ।
पुल निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म पुलका तीनवटा पिल्लर निर्माण भएका छन् भने काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान तयार भएको छ ।
भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँका अनुसार पुल निर्माण सम्पन्न भए हालको तुलनामा यात्रा दूरी निकै छोटिनेछ ।
“पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटरभन्दा बढी सडक घुमेर यात्रा गर्नुपर्ने बाध्यता छ । पुल बनेपछि करिब चार किलोमिटर यात्रामै पुग्न सकिन्छ,” उहाँले भन्नुभयो ।
यसैबीच काभ्रेपलाञ्चोकका सांसद बदन भण्डारीले केही दिनअघि निर्माणाधीन पुलको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । उहाँले पुल निर्माणलाई अघि बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।