लमजुङ। मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ। जारी खोज तथा उद्धार अभियानका क्रममा गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव बुधबार फेला परेको हो।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार हिमलुङ बेसक्याम्पबाट उद्धार गरी ल्याइएका तीनै जनाको शव बुधबार दिउँसो करिब ४ः४२ बजे सदरमुकाम चामे पुर्याइएको थियो। शव चामेस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार शवहरू बिहीबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ।
फेला परेका शवमध्ये गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का २१ वर्षीय सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कलम बुढा रहेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार उनीहरू तीनै जना ‘हिमालयन होलिडेज’ एजेन्सीमार्फत हिमाल आरोहण तथा आरोहण सहजीकरणमा संलग्न थिए।
हिमलुङ हिमपहिरोमा परी अझै ९ जना आरोही तथा सहयोगी बेपत्ता रहेका छन्। बेपत्तामध्ये हिमालयन होलिडेजका ७ जना र इम्याजिङ नेपालका २ जना रहेको प्रशासनले जनाएको छ।
उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।