काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ।
कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेदेखि सुरु हुँदैछ। यसपटक अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजार बढी प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ।
१४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। यसपटक भने करिब ७ हजार प्रतिनिधि सहभागी हुने समितिको अनुमान छ।
१४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था थियो। यसपटक पार्टी विधान संशोधन गरी प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।
महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङको व्यवस्था पार्टीले गर्नेछ। तर होटलमा बस्दा लाग्ने शुल्क भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्नेछ।