काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षण विशेषतासहितको एक हजार रुपैयाँ दरको बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार ‘सिरिज २०२५’ अन्तर्गत जारी गरिएको नयाँ नोटको आकार भने पुरानै कायम राखिएको छ। नोटको रङमा परिवर्तन गरी बैजनी घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र राखिएको छ। त्यस्तै, लालीगुराँसको पानीछाप र ‘१०००’ अंकित पानीछाप समावेश गरिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शकै आधारमा नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटमा सीधा हेर्दा सुनौलो र ढल्काउँदा हरियो देखिने भगवतीको चित्र राखिएको छ। त्यसैगरी, सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो पनि समावेश गरिएको छ। नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र अंकित गरिएको छ। साथै, सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँसका चित्र र हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति पनि समावेश गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको ‘सिरिज २०१९’ अन्तर्गतको एक हजार रुपैयाँको नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म जारी गरिएको थियो।