काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथ लिएका छन्।
बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पराजुलीले समितिको सभापतिको शपथ लिएका हुन्।
हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्ने उद्देश्यले विशेष समिति गठन गरिएको हो।
शपथपछि सभापति पराजुलीले विपद् पूर्वतयारीका लागि विगतमा भएका कामकारबाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने बताए।
उनका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई ध्यानमा राख्दै विकासका पूर्वाधारलाई सुरक्षित र जलवायु परिवर्तनसँग अनुकूलन हुन सक्ने बनाउने विषयमा समेत समितिले अध्ययन गर्नेछ।
पराजुलीले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावसहितको सशक्त प्रतिवेदन तयार गरी प्रभावित नागरिकलाई न्यायको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे।
दसैँ–तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि अध्ययन गर्नुपर्ने विषय व्यापक भएकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने उनले बताए।