काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म विद्युत् निर्माणका लागि विनियोजित रकमबाट काम नगरी रु. ९ लाख २६ हजार हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार मुद्दा दायर गरिएकामा कार्यालयका तत्कालीन प्रमुख रिमाल, तत्कालीन सब–इन्जिनियर विश्वराज भण्डारी र तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल छन्।
त्यस्तै, सोरू गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामी तथा गल्फागाढ छहराखेत जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु. ९ लाख २६ हजार बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो।