काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ पुगेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेको खातामा १२ अर्ब ५ लाख ९९ हजार ७२९ रुपैयाँ मौज्दात छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ।