काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ।
थापा शनिबार भारत जाने तयारीमा थिए। पछि भ्रमण आइतबारका लागि सारिए पनि अन्ततः उनी आइतबार पनि भारत नजाने निर्णयमा पुगेका हुन्।
भारतको नयाँदिल्लीमा आयोजित नेपाली कांग्रेस जनसम्पर्क समिति भारतको अधिवेशनमा थापालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो। कार्यक्रममा सहभागी हुने तयारी पूरा भए पनि उनले अन्तिम समयमा भ्रमण स्थगित गरेका हुन्।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाको भारत भ्रमण ‘आन्तरिक तथा प्राविधिक कारण’ले स्थगित गरिएको हो। उनले भ्रमणको नयाँ मिति भने तय भइनसकेको जानकारी दिए।
‘नितान्त आन्तरिक र प्राविधिक कारणले सभापतिज्यूको भारत भ्रमण स्थगित भएको हो,’ चालिसेले बताए।
भ्रमण स्थगित हुनुको औपचारिक कारण कांग्रेसले सार्वजनिक गरेको छैन। तर पार्टीभित्रको आन्तरिक मतभेद यसको प्रमुख कारण रहेको स्रोतहरूको दाबी छ।
गगन थापा पार्टी सभापति निर्वाचित भएयता संस्थापन र इतर समूहबीचको विवाद चर्किँदै आएको छ। यही विवादका बीच थापा र इतर समूहका नेता पूर्णबहादुर खड्का पक्षले देशव्यापी राजनीतिक अभियान पनि सञ्चालन गरिरहेका छन्।