काठमाडौँ । संघीय संसद् अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आ-आफ्ना कार्यसूचीमा छलफल गर्नेछन्।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीबारे छलफल हुनेछ।
उही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमसँग सम्बन्धित विषयमा छलफल गरिनेछ।
त्यसैगरी, दिउँसो २:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।