काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।’
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि लागू गरिएको थियो। तर, शुल्क कार्यान्वयनसँगै विभिन्न क्षेत्रबाट व्यापक आलोचना भएपछि सरकारले निर्णय पुनर्विचार गर्दै हटाउने निष्कर्षमा पुगेको हो।
अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको लामो छलफलपछि शुल्क हटाउने निर्णय गरिएको हो। यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री बालेन शाहले पनि उक्त शुल्क खारेज गर्ने प्रक्रिया अघि बढाइने बताएका थिए।