काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको निर्वाचन क्षेत्र तथा अन्य जिल्लामा हुने भ्रमणलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।
मंगलबार महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार सांसदहरूको क्षेत्रीय भ्रमणलाई केवल औपचारिक जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठन सुदृढ बनाउने तथा जनताबाट प्राप्त सुझावलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।
निर्देशनमा कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय गर्नु अघि सम्बन्धित पार्टी समितिलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने उल्लेख छ। आफ्नै निर्वाचन क्षेत्रबाहिर कार्यक्रम आयोजना गर्दा सम्बन्धित क्षेत्रका सांसद तथा पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्न पनि भनिएको छ।
रास्वपाले स्थानीय पार्टी समितिसँग पूर्वछलफल गरी सम्बन्धित क्षेत्रका ज्वलन्त समस्या पहिचान गर्न, ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरेर प्राथमिकताका साथ अघि बढाउन तथा कार्यक्रम सञ्चालनका क्रममा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न सांसदहरूलाई निर्देशन दिएको छ।
त्यसैगरी, भ्रमण तथा कार्यक्रमहरू तडकभडक र अनावश्यक खर्चरहित ढंगले सञ्चालन गर्दै मितव्ययितालाई प्राथमिकता दिन तथा सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न पनि पार्टीले जोड दिएको छ।
यस्तै, निर्वाचन क्षेत्रबाट प्राप्त जनसुझाव, गुनासा तथा स्थानीय समितिबाट आएका प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संघीय संसदीय दलमा अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था पनि रास्वपाले गरेको छ।
