चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा परेका बसहरू हटाउने कार्य जारी रहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्, तर घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।
दुर्घटनामा संलग्न निलो रङको बस नारायणगढबाट मुग्लिनतर्फ जाँदै थियो भने राजधानी एक्सप्रेस बस मुग्लिनबाट नारायणगढतर्फ आउँदै थियो। ठक्करका कारण राजधानी एक्सप्रेस बसका चालक गम्भीर घाइते भएका छन्।
यसअघि वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गराएको थियो। सडक आइतबार बिहान ६ बजे पुनः सञ्चालनमा ल्याइएको थियो।
सडक खुल्नेबित्तिकै सवारी चाप बढ्दा कतिपय चालकले लेन मिचेर सवारी चलाउने गरेका कारण दुर्घटना र लामो जामको समस्या देखिएको छ। सडक डिभिजन कार्यालयले चालकहरूलाई लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ।