काठमाडौँ । नागरिक अगुवा एवं पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले पाण्डेको निधनले अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका हुन्।
डा. पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु उनले लेखेका छन्, ‘नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा उहाँले पुर्याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ।’साथै पूर्वप्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना पनि व्यक्त गरेका छन्।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले पनि नागरिक अगुवा पाण्डेको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
फेसबुक पोस्टमार्फत थापाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पाण्डेले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतन्त्रका लागि गरेको योगदानको स्मरण गरेका छन्। ‘नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिनुभएका श्रद्धेय नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो’ कांग्रेस सभापति थापाले लेखेका छन्, ‘अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो। सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ।
उनले अगाडि लेखेका छन्, ‘सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ। उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ।’
८७ वर्षीय पाण्डेले शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित आफ्नै निवासमा अन्तिम सास फेरेका हुन्। उनी क्यान्सर रोगबाट पीडित थिए।
२०६२/०६३ सालको जनआन्दोलनमा उनले नागरिक समाजका तर्फबाट नेतृत्वदायी भूमिका खेलेका थिए। त्यसपछि पनि लगातार सामाजिक आन्दोलनमा सक्रिय थिए।
पाण्डेको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।