बैतडी । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
शनिबार बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्। तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।