काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् । उनले होटल व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको चिन्ता अब समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे ।
प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई प्रचलित कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत सम्भावित सहकार्यका क्षेत्र पहिचान गर्न आग्रह गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए ।
हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्र आउने गरेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढाउन सके आन्तरिक रोजगारीमा ठूलो वृद्धि हुने र होटल उद्योग नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने महत्वपूर्ण माध्यम बन्न सक्ने बताए ।
उनीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र क्रस–बोर्डर पर्यटनको उच्च सम्भावना रहेको औँल्याउँदै सरकारसमक्ष विभिन्न नीतिगत सुझावसमेत प्रस्तुत गरे ।
हानले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग गरेको छ । साथै, साना तथा मझौला होटलका लागि २५ बेडसम्म लागू हुने संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा बढाएर ५० बेडसम्म कायम गर्नुपर्ने सुझाव दिएको छ ।
त्यसैगरी पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नेपाल वायुसेवा निगमको सेवा सुधार गर्न व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराए ।
वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरणअन्तर्गत ट्रेडमार्क प्रयोगको रोयल्टी वा शुल्कसम्बन्धी व्यवस्था संशोधन गरी आपसी समझदारीअनुसार शुल्क निर्धारण गर्ने व्यवस्था गर्न तथा होटल क्षेत्रसँग सम्बन्धित अन्य कानुनको पुनरावलोकन गर्न पनि उनीहरूले आग्रह गरे ।
डेस्टिनेसन वेडिङका लागि आवश्यक गरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो–भिडियो प्रचारमा मात्र सीमित नभई पूर्ण कथा प्रस्तुति (फुल स्टोरी टेलिङ) सहितका प्याकेज तथा विज्ञहरूको व्यवस्था गर्न समेत हानले सुझाव दिएको छ ।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए ।