काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकपछि करिब दुई साताका लागि सदन स्थगित हुने भएको छ।
प्रतिनिधिसभाको बैठक आज बसिरहेको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको सहमतिअनुसार अर्को बैठक साउन १४ गते बोलाउने तयारी गरिएको छ। यसबारे सभामुखले आजको बैठकमा औपचारिक जानकारी गराउनेछन्।
कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार, “साउन १४ गते अर्को बैठक राख्ने गरी छलफल भएको छ। यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहुनेछ।”
सामान्यतः प्रतिनिधिसभाको बैठकको अन्त्यमा सभामुखले अर्को बैठक बस्ने मिति र समय घोषणा गर्ने प्रचलन छ।
आजको प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सोही बैठकका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्म सारिएको थियो।
आजको बैठकमा प्रधानमन्त्री वालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै सदनमा पेस गरिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यसपछि विभिन्न सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची रहेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धीमाथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त महासन्धी आजै अनुमोदन गर्ने कार्यसूची रहेको छ।
यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धीमाथि पनि छलफल गरी अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ।