काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारका नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताएका छन् ।
शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले बनाउने नीति तथा कार्यक्रमले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने बताए । सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको आरोप सत्य भए त्यसबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।
“सरकारले बनाउने नीति, योजना र कार्यक्रमका कारण नागरिकले कम्तीमा राहतको सास फेर्न पाउनुपर्ने हो । तर यदि सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नुपरेको आरोप सही हो भने त्यसबारे गम्भीर भएर सोच्न आवश्यक छ,” पराजुलीले भने ।
पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवैले समाज र नागरिकप्रति थप जिम्मेवार भएर काम गर्नुपर्नेमा पनि जोड दिए ।