काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ठोस परिवर्तनका लागि सचेत र संगठित प्रयास आवश्यक रहेको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित नेकपा (एमाले) ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको प्रतिक्षा गरेर मात्र नबस्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । अध्यक्ष ओलीले वर्तमान समय सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसलाई ‘प्रचार र आइटी वार’ को संज्ञा दिए । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै कुप्रचारलाई ‘अल्गोरिदम’ का रूपमा विकास गरेर भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । समय गतिशील र परिवर्तनशील भएपनि प्राकृतिक रूपमा हुने परिवर्तनको गति अत्यन्तै ढिलो हुने उनले बताए । विकास र रूपान्तरणका लागि सचेत मानवीय प्रयास अपरिहार्य रहेको पनि उनले उल्लेख गरे । वर्तमान सरकारप्रति लक्षित गर्दै अध्यक्ष ओलीले यो सरकार ‘चटक’ को भरमा आएको र ‘चटक’ कै भरमा जाने दाबी गरे । सरकार ढल्ने परिस्थिति स्वतः सिर्जना हुने भएपनि मुलुकलाई थप क्षति हुनबाट जोगाउन सचेत हस्तक्षेप जरुरी रहेको उनले स्पष्ट पारे ।
अध्यक्ष ओलीले भने, ‘आजको जमाना सूचना प्रविधि (आईटी) को हो । आजको जमाना आईटी युद्धको हो । आजको जमाना प्रचारको हो । हामीले यति धेरै काम गर्यौं, तर त्यसलाई पर्याप्त रूपमा प्रचार गर्न सकेनौँ । जसले कामै गरेन । ऊ विनाशको एजेण्डा लिएर आयो र प्रचारमा अगाडि बढ्यो। यसको अर्थ के हो भने, योजनावद्ध रूपमा कुप्रचार चलाइयो र त्यसलाई एल्गोरिदमका रूपमा विकास गरियो। कुप्रचार एल्गोरिदममार्फत फैलियो र एल्गोरिदमले मानिसहरूलाई त्यसमा विश्वास गर्न बाध्य बनायो । त्यसकारण यसमा अलमलिइरहने होइन । हामी यो अवस्थासम्म आइपुग्यौँ भन्दैमा यहीँ रोकिने पनि होइन । समय गतिशील छ, परिवर्तनशील छ । परिवर्तन आफैँ पनि हुन्छ, तर त्यो धेरै ढिलो हुनसक्छ । त्यसैले परिवर्तनका लागि सचेत प्रयास गर्नु, सचेत पहल गर्नु र त्यसका लागि योजनाबद्ध रूपमा काम गर्नु अत्यन्तै वाञ्छनीय हुन्छ । हामीले विकासवादी सिद्धान्तका आधारमा विकास त हुँदै जान्छ, परिवर्तन पनि हुँदै जान्छ भन्ने बुझाइ राख्न सक्छौँ । अहिलेको सरकारलाई कसैले नढाले पनि त्यसभित्र आफैँ ढल्ने तत्वहरू पैदा हुन्छन्। अनेक कारणले त्यो ढल्न सक्छ र जुन चटकका भरमा आएको हो, त्यही चटकका भरमा जान पनि सक्छ । तर हामी त्यसैको प्रतीक्षामा बस्यौँ भने, त्यसले देशलाई बर्बाद गरिसकेको हुनेछ, लोकतन्त्रलाई बर्बाद गरिसकेको हुनेछ, हामीलाई बर्बाद गरिसकेको हुनेछ, र जनतालाई पनि ठूलो क्षति पुर्याइसकेको हुनेछ । अनि हामी भने परिवर्तन कहिले हुन्छ भनेर पर्खिरहेका हुनेछौँ । त्यसकारण परिवर्तन पर्खिने विषय होइन; परिवर्तन सचेत प्रयासबाट छिटो ल्याइने विषय हो । क्रान्ति भनेको पनि त्यही हो । सचेत प्रयासद्वारा छिटो, गुणात्मक फड्को मारेर गरिने परिवर्तन हो । हामीले भनेको परिवर्तन त्यही हो । त्यस परिवर्तनतर्फ हामीले आफ्नो प्रशिक्षण र अभियानलाई अगाडि बढाउनुपर्छ ।’
क्रान्ति भनेकै फड्को मारेर गरिने सचेत परिवर्तन भएको उल्लेख गर्दै उनले पार्टीको आगामी प्रशिक्षण र अभियानहरूलाई सोही दिशामा केन्द्रित गर्नुपर्नेमा जोड दिए । सचेत प्रयत्नबाट मात्रै मुलुकले खोजेको गति र प्रगति हासिल गर्न सकिने उनको भनाइ छ ।