काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले साम्राज्यवाद र फासीवादविरुद्ध विश्वव्यापी रूपमा ऐक्यवद्धताको आवश्यकता रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । हालै जर्मनी र बेलायत (यूके) सहित युरोपका विभिन्न देशहरूको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका महामन्त्री सिंहले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै साम्राज्यवाद र फासीवादविरुद्धको एकता अपरिहार्य भएको उल्लेख गरे । कार्यक्रममा सहभागी वक्ताहरूले व्यक्त गरेका विचारले ती मुद्दाहरू र शान्तिको पक्षमा गम्भीर ऐक्यवद्धता प्रदर्शन गरेको उनको भनाइ थियो ।
महामन्त्री सिंहले जर्मनीमा सम्पन्न एक वृहत कार्यक्रममा पनि यी विषयहरूमा विस्तृत छलफल भएको स्मरण गर्दै यसबारे अन्तर्राष्ट्रिय रूपमा निरन्तर प्रयत्न भइरहेको जानकारी दिए ।