काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरण र संगठन पुनर्गठनको प्रस्ताव अघि सारेका छन् ।
खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै ३६ बुँदे धारणा प्रस्तुत गरेका हुन् । उनले वर्तमान नेतृत्वले पार्टीलाई वैचारिक, सांगठनिक र राजनीतिक रूपमा सही दिशामा अघि बढाउन नसकेको टिप्पणी गरेका छन् ।
खनालले पार्टी एकता, संगठन निर्माण र वैचारिक स्पष्टताको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनका अनुसार अहिलेको नेतृत्वबाट पार्टीलाई महाधिवेशनसम्म प्रभावकारी रूपमा लैजान कठिन देखिएको छ ।
उनले अन्तरिम विधानमा समेत वैचारिक अस्पष्टता रहेको दाबी गरेका छन् । विभिन्न राजनीतिक अवधारणाहरूलाई मिश्रण गरेर तयार गरिएको विधानले स्पष्ट कम्युनिस्ट दृष्टिकोणसहितको पार्टी निर्माण गर्न नसक्ने उनको तर्क छ ।
पार्टी एकता भएको लामो समय बितिसक्दा पनि सांगठनिक एकीकरण पूरा हुन नसकेको, निर्वाचन परिणाम अपेक्षाअनुसार आउन नसकेको र परिवर्तित राजनीतिक अवस्थाको समीक्षा गर्न नेतृत्व असफल भएको खनालको आरोप छ ।
उनले पार्टीभित्र निराशा, निष्क्रियता र अन्योल बढ्दै गएको उल्लेख गर्दै कार्यकर्ता तथा जनतामा नेतृत्वप्रतिको विश्वास कमजोर बनेको धारणा राखेका छन् । नेतृत्वमा आकर्षण र भरोसा घट्दै गएको भन्दै उनले वर्तमान अवस्थाको पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् ।
खनालले पार्टीलाई थप कमजोर हुन नदिन संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएका छन् । उनले सक्षम र वैचारिक रूपमा स्पष्ट नेतृत्वलाई जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएका छन् ।
उनको प्रस्तावअनुसार केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बाटो खोल्नुपर्नेछ ।
खनालले वर्तमान नेतृत्वबाटै स्वेच्छिक रूपमा यस्तो पहल भए कम्युनिस्ट आन्दोलनका लागि सकारात्मक सन्देश जाने र नेतृत्व हस्तान्तरणको उदाहरण स्थापित हुने बताएका छन् । नेतृत्व परिवर्तनले पार्टीभित्र नयाँ ऊर्जा, पुनर्संरचना र सक्रियताको वातावरण बन्न सक्ने उनको विश्वास छ ।