काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २३९ नै यथावत् छ ।
हाल नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।
उक्त खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने पालो नै आएन । बलिङमा भने उनले १ विकेट लिएका थिए ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।
भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।
अजमतुल्लाह ओमरजाइ चौथोमा तथा वेस्ट इन्डिजका रस्टन चेज पाँचौंमा उक्लिएका छन् । दीपेन्द्रकै समान २३९ अंक चेजको पनि छ । दुवैजना पाँचौंमा छन् ।