काठमाडौं-पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमेको भन्दै विजय उत्सव मनाउँदा फ्रान्समा सयौँ जना पक्राउ परेका छन्।
हंगेरीको राजधानी बुडापेस्टमा शनिबार राति भएको फाइनल खेलमा आर्सनलविरुद्ध पीएसजीले पेनाल्टी सुटआउटमा सनसनीपूर्ण जित हात पारेको थियो। त्यसपछि फ्रान्सभर फुटबल प्रशंसक र प्रहरीबीच हिंसक झडप भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। विजय उत्सव दंगामा परिणत भएपछि प्रहरीले फ्रान्सभरिबाट ४१६ जनालाई पक्राउ गरेको छ। जानकारी अनुसार राजधानी पेरिसबाट मात्रै २८० भन्दा बढी पक्राउ परेका छन्।
पार्क डेस प्रिन्सेस रंगशाला बाहिर खेल हेर्न भेला भएका हजारौँ समर्थक र प्रहरीबीच सुरुमै तनाव उत्पन्न भएको थियो। रंगशाला भित्र छिर्न नपाएका करिब पाँच हजार मानिस बाहिरै बसेर उग्र बनेका थिए। करिब १५० जनाको समूहले रंगशालाको एउटा ढोका नै तोडेर भित्र छिर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई पछि धकेलेको थियो। जितको खुसीयाली मनाउन पेरिसको प्रतिष्ठित ‘च्याम्प्स-एलिसीज एभिन्यू’ मा झण्डै २० हजार मानिस सडकमा ओर्लिएका थिए। सो क्रममा भीडले प्रहरीमाथि आतिशबाजी र ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
दंगाकारीहरूले पेरिसका सडकहरूमा गुडिरहेका विद्युतीय बाइकहरू जलाउनुका साथै कम्तीमा छ वटा सवारी साधन, एउटा बस पार्क र दुईवटा व्यावसायिक पसलहरूमा व्यापक तोडफोड र आगजनी गरेका छन्। केही समर्थकले पेरिसको व्यस्त चक्रपथ (पेरिफेरिक) मै पुगेर केही समय यातायात समेत अवरुद्ध पारेका थिए। खेलको दिन पेरिसमा गायिका आया नाकामुरा र र्यापर डाम्सोको साङ्गीतिक कन्सर्ट तथा फ्रेन्च ओपन टेनिस चलिरहेकाले सहरमा अत्यधिक भीड थियो। तनावलाई कम गर्न पेरिसका ट्राम लाइनहरू, धेरै मेट्रो स्टेशनहरू र बस यातायात पूर्ण रूपमा बन्द गर्नु परेको थियो।
विगतका हिंसात्मक इतिहासलाई ध्यानमा राख्दै फ्रान्सभरि २२ हजार र पेरिसमा मात्रै ८ हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो। गत वर्ष सन् २०२५ मा पनि पीएसजीको च्याम्पियन्स लिग जितपछिको उत्सव घातक बनेको थियो। सो घटनामा एक १७ वर्षीय किशोरसहित दुई जनाको मृत्यु भएको थियो।
यस घटनामा परेर कम्तीमा सात जना प्रहरी अधिकारी घाइते भएका छन्। फ्रान्सका आन्तरिक मन्त्री लरेन्ट नुनेजले यस हिंसात्मक गतिविधिलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै भर्त्सना गरेका छन्। यता, फ्रान्सकी अति दक्षिणपन्थी नेतृ मरीन ले पेनले सरकारको कडा आलोचना गर्दै सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘फ्रान्समा मात्र फुटबल क्लबको विजयले दंगा निम्त्याउँछ। यहाँ मात्र मानिसहरू हिंसाबाट बच्न विजयको साँझ आफ्नो घरमा थुनिन बाध्य छन्।’
यति ठूलो तनावका बीच पनि विजेता पीएसजीका खेलाडीले स्थानीय समय अनुसार आइतबार दिउँसो आइफेल टावरको छेउमा रहेको च्याम्प-डे-मार्समा भव्य विजय परेड गर्ने कार्यक्रम रहेको छ, जहाँ करिब एक लाख समर्थक सहभागी हुने अनुमान गरिएको छ। परेडपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले एलिसी दरबारमा टोलीको स्वागतका लागि विशेष समारोह आयोजना गर्ने तालिका रहेको छ। एजेन्सी