काठमाडौं । भारतलाई पराजित गर्दै कजाखस्तान काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डशलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा कजाखस्तानले यसअघि अपराजित रहेको भारतलाई सोझो सेटमा पराजित गरेको हो ।
कजाखस्तानले पहिलो सेट २५-२१ ले जित्दै खेलमा अग्रता बनाएको थियो । दोस्रो सेटमा पनि सोही लय कायम राख्यो । भारतले केही चुनाैती दिएपनि कजाखस्तानले दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनायो ।
तेस्रो सेटमा कजाखस्तानले एकपक्षीय प्रदर्शन गर्यो । ५-१, १०-२ हुँदै अघि बढेको कजाखस्तानले तेस्रो सेट २५-१४ ले सहजै जित्यो । भारत समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेको थियो ।
कजाखस्तान समूह बी मा दुई जित र एक हारको नतिजासहित समूह उपविजेता बनेको थियो । अब कजाखस्तानले बिहीबारै हुने इरान र नेपालबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
नेपाल र इरानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । फाइनल खेल शुक्रबार हुनेछ ।