काठमाडौं – फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् ।
विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् ।
यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट भने सबैभन्दा धेरै आठ खेलाडी टोलीमा परेका छन् । चोटका कारण केही समय मैदानबाहिर रहेका लामिन यमाल टोलीमा परेका छन् ।
उनी पूर्ण रूपमा फिट नभए पनि विश्वकपसम्म ठीक हुने अपेक्षा गरिएको छ । केही रिपोर्टअनुसार उनले सुरुआतका दुई खेल गुमाउन सक्ने सम्भावना छ ।
यस सिजन लामिन यमालले ला लिगामा १६ गोल र ११ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले टोलीका केही खेलाडीमा फिटनेस समस्या भए पनि पहिलो खेलसम्म सबै उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।
युरोपियन च्याम्पियन स्पेन समूह ‘एच’ मा रहेको छ, जहाँ उसले केप भर्डे, साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।