सामान्यतया कुखुराको खोर तयार गर्न कति रकम चाहिएला ? ५ वा ७ लाख । १० लाखको लगानीमा त भब्य खोर बनाउन सकिन्छ । झापाको बिर्तामोडमा यस्तो कुखुराको खोर छ, त्यो ७ करोडमा निर्माण भएको छ । ७ करोडको खोरमा कुखुरा पालिएको कुरा धेरैलाई पत्यार लाग्दैन । तर, यथार्थ हो यो ।
शुरुमा यो संरचना कुखुरा पाल्नका लागि निर्माण भएको थिएन । दक्ष जनशक्ति उत्पादन गर्दै मुलुकको समृद्धिको यात्रामा एउटा ईटा थपौं भन्ने संस्थापकको उद्देश्य रहेको थियो । तर, सरकारी स्तरबाट असहयोग भएका कारण त्यति ब्यवस्थित संरचनामा अहिले कुखुरा पालिएको छ । सम्बन्धन नपाएपछि निर्माणपक्षले ४ हजार ५ सय लोकल कुखुरा, २ सय टर्की र ७ सय कडकनाथ कुखुरा पालेर भवनको उपयोग गरिरहेको छ ।
बिर्तामोडका १० जना उद्यमीको पहलमा १२ बर्षअघि इन्जिनियरिङ कलेज स्थापना गर्ने सहमति जुट्यो । उनीहरुले बिर्तामोडको बसपार्क नजिकै एक बिगाहा ५ कठ्ठा जमिन खरिद गरे । जमिन खरिद गरे लगत्तै उनीहरुले सुविधासम्पन्न पुर्वाधार तयार गर्न शुरु गरे । रातारात पुर्वाधार बन्यो । तर आजसम्म उनीहरुको योजना पुरा हुन सकेन ।
७ करोड रुपैंयाँको लागतमा कलेजका लागि आवश्यक सम्पुर्ण पुर्वाधार तयार गरिए । पुर्वाञ्चल इन्जिनियरिङ कलेजका पुर्व प्रमुख अनुज पराजुलीको सुझाव बमोजिमका संरचना तयार गर्न निर्माणपक्षले कुनै कन्जुस्यांई गरेन । दुईबर्षमा आकर्षक र भब्य भवन तयार भयो । होस्टल सहित ४४ वटा कोठा भएको कलेजको संरचना तयार भयो । फिजिक्स र केमेस्ट्रि ल्याव, पुस्तकालय स्थापना गरियो, डेस्क, बेन्च समेत राखिए ।
संरचना तयार भइरहेको समयमा २०६९ जेठ १४ गते कलेज स्थापनाका लागि निर्माणपक्षले मनसायपत्र पनि प्राप्त ग¥यो । मनसायपत्र पाइपछि हौसिएका उनीहरुले बिर्तामोडमा इन्जिनियरिङ कलेज स्थापना हुने आशामा भर्ना खोल्नै लागेका थिए । सोही समयमा बिश्व बिद्यालयले सम्बन्धन दिन नसकिने जनाउ दियो । पुर्वाञ्चल बिश्वबिद्यालयबाट सम्बन्धन लिन खोजेका सञ्चालकहरु अहिले पनि त्यसको पखाईमा छन् ।
‘पाथिभरा सेन्टर फर एडभान्स स्टडिज’ नाम रहेको त्यो कलेजको संरचना यतिबेला खण्डहरमा परिणत हुने अवस्थामा छ । उत्साहका साथ संरचना तयार गर्न कस्सिएका संस्थापकहरु अहिले निरास भएका छन् । ‘पटक–पटक गरेर ८ पटक आषयपत्र नविकरण गरिसक्यौं, तत्कालिन संस्थापकमध्येका एकजना युवराज प्रसाईले भने, अहिलेसम्म ४८ लाख रुपैंयाँ त आषयपत्र नविकरण गर्दा खर्च भइसकेको छ ।’ त्यो समेत स्थापनाका लागि २ करोड ५० लाख रुपैंयाँ खर्च भइसकेको उनले बताए ।
‘कलेज स्थापनाको लागि सम्भाब्यता अध्ययन गरियो । शिक्षा मन्त्रालयबाट स्थलगत भ्रमण पनि भयो । भ्रमण टोलीले कलेज सञ्चालनका लागि उपयुक्त रहेको प्रतिवेदन दिएपछि २०७२ साउन८ गते २ लाख ५२ हजार राजस्व पनि तिरियो । तर, शिक्षामा हुने निजीकरणलाई निरुत्साहन गर्ने भन्दै बिश्वबिद्यालयबाट सम्बन्धन पाईएन, प्रसाईले प्रश्न गर्दै भने–‘निजीकरण रोक्नका लागि सरकारी क्षेत्रबाट यस्ता प्राविधिक कलेजको स्थापना गर्नु पर्दैन ?’
शिक्षामा लगानी गर्ने लगानीकर्ता यो सरकार आएपछि सबैभन्दा बढी पीडामा रहेको उनले बताए । शैक्षिक कन्सलटेन्सी र पुराना कलेज सञ्चालकको दवावमा सम्बन्धन नदिएको प्रसाईले बताए । अध्ययनका नाममा नेपालबाट बिदेश लगिने पैसा यतै रोक्नका लागि गरेको प्रयास सफल नभएकोमा उनी निरास छन् ।
कलेजको संरचना निर्माण गर्दा १० जना साझेदार थिए । अहिले ९ जनाले शेयर फिर्ता लगेर प्रसाईमात्र त्यसको हिस्सेदार छन् । लामो समय सम्बन्धनको पखाईमा रहेपछि अरुले आफुंबाट शेयर फिर्ता लगेको उनी बताउँछन् । ‘अब सम्बन्धन नपाउने भयो भन्ने बुझेपछि साथीहरुले शेयर लानुभयो, प्रसाईँले भने ।
कम्प्युटर, सिभिल र ईलेक्टोनिक्स इन्जिनियरिङ अध्ययनको आषयपत्र लिएर कक्षा चलाउन नपाउनुको पीडा प्रसाईंसँग असाध्यै छ । दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्रबाट उद्यमीले गरेको प्रयासलाई सरकारी स्तरबाट साथ नदिएको मात्र होइन पुरै असहयोग गरिएको उनी बताउँछन् । एक बिषयको एक लाखका दरले ०७१ साउनमा सिटिईभिटीमा तीनलाख बुझाईयो । तर पनि अनुमति पाइएन ।’
‘आफ्ना छोराछोरी इन्जिनियरिङ अध्ययनका लागि भारत र अष्ट्रेलिया जाँदा लागेको खर्च सम्झिएर नेपालमै त्यो शिक्षा प्रदान गर्नका लागि कलेज खोलेको थिए । तर, नेपालमा लगानी गर्ने वाताबरण नभएको मलाई ज्ञान नै भएन ।’ प्रसाईका छोरीले भारतबाट बि टेक सकेकी छन भने छोरा अष्ट्रेलियमा बिई अध्ययनरत छन् । ‘बेला बेला त मलाई यहाँको सबैकुरा बेचबिखन गरेर बिदेश भासिँउ जस्तो लाग्छ, प्रसाईँले भने–‘हामी राज्यको नियम अनुसार कर तिरेर ब्यवसाय गर्छाै भन्दा समेत यहाँ लगानीको वाताबरण छैन ।’
सम्बन्धनका लागि उनले कति नेता पछ्याए, कति बिश्वबिद्यालय धाए, त्यो अब रेकर्डमा मात्र सिमित छ । नेकपा, काङग्रेस लगायतका राजनीतिक दलका सबै नेता गुहारेको उनले बताए । धेरैले चासो दिएनन । केहीले सहयोग गर्न तम्सिए । चासो दिनेले पहुँच पु¥याउन सकेनन् । र सम्बन्धन पाउने उनको आसा, आसामै सिमित रहयो । प्रसाईले नेपालमा केही गर्छु भनेर गरिएको लगानी बालुवामा पानी हाले सरह हुन लागेकोमा चिन्ता प्रकट गरे । उनले लगानी सुरक्षाको वाताबरण बनाउन माग पनि गरेका छन् ।
संविधानसभाका सदस्य तथा नेकपा नेता प्रेम गिरीले शिक्षा र स्वास्थ्यमा भएको अस्पष्ट नीतिका कारण यसका लगानीकर्ता पीडित हुनुपरेको बताएका छन् । उनले यतिबेला पनि लगानीकर्ताको सुरक्षा गर्न नसक्नु दुखद भएको बताए । आफु संसद भएको समयमा सम्बन्धनका लागि पहल गरेको भएपनि असफल भएको उनको भनाई थियो ।