राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद् राजेन्द्र लिङ्देनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि काठमाडौं ल्याइने भएको छ ।
आज बिहान विर्तामोडको बीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना भर्ना भएका लिङ्देनको शरिरमा अक्सिजनको मात्रा कम भएपछि थप उपचारको लागि एयरलिफ्ट गरेर काठमाडौं ल्याइने भएको हो ।
बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ ।
हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले सांसद् लिङ्देनलाई निमोनिया भएको र अक्सिजनको मात्रा निकै घटेको बताए ।
पार्टीका जिल्ला सचिव केशव ओझाले सांसद् लिङ्देनलाई थप उपचारका लागि केहीबेरमा एयर एम्बुलेन्समार्फत काठमाडौं लगिने तयारी भइरहेको जानकारी दिए ।
ओझाका अनुसार नेपाली सेनाको एयर एम्बुलेन्सले चन्द्रगढी एयरपोर्टबाट काठमाडौंको मेडासिटी हस्पिटल लैजाने छ ।
साथमा उनकी पत्नी सीता थापा, स्वकीय सचिव र छोरा पनि जानेछन् ।
‘अहिले उहाँ बोल्दै हुनुहुन्छ, निमोनियाको उपचारका लागि काठमाडौं लैजानु पर्ने चिकित्सकको सिफारिस अनुसार काठमाडौं लैजाने तयारी गरिएको हो,’ ओझाले भने ।
झापामा राजतन्त्रको पक्षमा भएको आन्दोलनमा मंसिर २० गते सहभागी भएका लिङ्देनलाई मंसिर २२ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
झापामा राजावादीहरुले गरेको शक्ति प्रदर्शनमाभारतीय मोटरसाइकलको प्रयोग बढी भन्दै केटिएम दैनिकमा प्रकाशित भएको समाचारमा लिङ्देनले बुधबार राति प्रतिकिया दिएका थिए ।
उनले भने “हामी कोही भ्रममा नपरौं दक्षिणी सिमा क्षेत्र पाठामारी, केचनाबाट २० जनाभन्दा धेरै मौलवि(धार्मिक शिक्षक)हरु रयालीमा सहभागी थिए । अधिकांशले भारतीय नंको सवारी प्रयोग गरेका थिए भने काँकडभिट्टाका केही युवाले पनि संधै आफैले प्रयोग गर्ने भारतीय नम्वरको मोटरसाइकल प्रयोग गरेका हुन ।”