राजसंस्था पुनरस्थापनाको माग गर्दै केही दिनदेखि निरन्तर प्रदर्शन भइरहेका छन् । देशका विभिन्न ठाउँमा जारी प्रदर्शनमा गणतन्त्रलाई मूख्य निसाना बनाइएको छ । उनीहरुले लगाएको नारा र बोकेको प्लेकार्डमा मुख्यगरी ‘गणतन्त्र र संघीयता’ खारेजीको माग गरिएको छ । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाइरहेका छन् ।
नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीनबाट उच्च स्तरमा भएका निरन्तर भ्रमण, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दो द्वन्द्व र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनी तीव्र आलोचना भइरहेको सन्दर्भमा राजावादीहरुले प्रदर्शन तिब्र बनाएका छन् ।
कसले गर्दैछ प्रदर्शन ?
देशका विभिन्न ठाउँमा मात्रै होइन संघीय राजधानी काठमाडौंमा समेत उनीहरुले प्रदर्शन गरिरहेका छन् । राजतन्त्रवादी साना दलहरु र हिन्दु राष्ट्र राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् । त्यसबाहेक प्रदर्शनकै लागि केही अस्थायी समूहहरु समेत गठन भएका छन् । प्रदर्शनको आयोजक एउटै संस्था वा व्यक्ति छैन ।
नेपाली झण्डा र राष्ट्रियताको नारा लगाउँदै सीमा नाका बन्द भएको समयमा भारतीय मोटरसाइकल कसरी नेपाल आइपुगे ? राजावादीको प्रदर्शनमा उनीहरु किन सहभागी भए ? उनीहरु के चाहन्छन् ? उनीहरु संगठित रुपमा आएका हुन् वा एक्लाएक्लै ?
जस्तो– धनगढीमा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिममा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम गठन गरिएको थियो । त्यसैगरी, कात्तिक २५ गते काठमाडौंमा भएको प्रदर्शन राष्ट्रवादी नागरिक समाजको ब्यानरमा भएको थियो ।
विभिन्न समूहका नाममा प्रदर्शन भइरहेका छन् । काठमाडौंमा राष्ट्रिय शक्ति नेपालले प्रदर्शन गरेको हो । राष्ट्रिय शक्ति नेपालको अध्यक्ष पूर्वपञ्चका रुपमा चिनिने पूर्वमन्त्री केशरबहादुर बिष्ट हुन्।
बिष्ट नेतृत्वको राष्ट्रिय शक्तिले संयोजन गरेको जुलुसमा अहिले देशभर भइरहेको राजावादीहरुको प्रदर्शनमा सक्रिय राष्ट्रिय सरोकार मञ्च र गुरु गोरखनाथका भक्तहरुको समाज पनि सहभागी थियो । बिष्टले नै आफुहरुको जुलुसमा उनीहरुको समेत सहभागिता रहेको जानकारी गराएका थिए ।
त्यस्तै, नेपाली सेनाका पूर्वसहायक रथी नेतृत्वका पूर्वसेना, प्रहरीको समूह पनि जुलुसमा सहभागी थिए । जुलुसमा बिष्टसहित तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि मन्त्री बनाएका श्रीषशमशेर राणा, दीपक ज्ञवाली र कांग्रेस विपिन कोइराला पनि सहभागी थिए ।
अहिले भइरहेका प्रदर्शनमा युवाहरुमा सडकमा ल्याउने पहल भने वीर गोर्खाली नामक संस्थाले गरेको छ । सो संस्था राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्न चाहने युवाहरुको संस्था हो ।
विभिन्न संघसंस्थाका नामबाट प्रदर्शन भए पनि त्यसमा राप्रपाको साथ नहुने कुरै भएन । उनीहरुका कार्यकर्ता सक्रिय रुपमा सहभागी भइरहेका छन् ।
विभिन्न संघ संस्थाहरुको ब्यानरमा भएको प्रदर्शनमा जनताको सहभागिता बढ्दै गएपछि राप्रपाले पनि यसैको फाइदा उठाउँदै खुलेरै सडकमा आउन थालेको छ । उसले हेटौडा र पूर्वमा प्रदर्शन गरिसकेको छ ।
‘प्रयोजित हर्कत’
अहिले भइरहेको प्रदर्शनका पक्ष र विपक्षमा बहस भइरहेको छ । राजावादीहरुले समर्थन र गणतन्त्रवादीहरुले विपक्षमा मत व्यक्त गरिरहेका छन् । राजावादीकाहरुको प्रदर्शनले सबैभन्दा बढी जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निरन्तर प्रश्न उठाइरहेका छन् ।
पछिल्लो समय भइरहेका प्रदर्शनलाई उनले ‘प्रयोजित हर्कत’ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘एउटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौंमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले २०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रस्टै छ ।
‘तर यो २१औँ शताब्दी हो । सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातिपुस्ता जन्मिसकेको छ है ।’
समाजशास्त्री निर्मला ढकाल पनि नेपालमा अब राजतन्त्र फर्कने सम्भावना देख्दिनन् । उनले ट्वीट गरेकी छन्, ‘जनतालाई आफू अनुसारकै शासक चाहिने होला । त्यसैले त चिच्याइचिच्याइ राजा पुकारेका छन् ।’
एकथरीले राजसंस्थाको पक्षमा अहिले भइरहेका प्रदर्शनहरू अहिलेका राजनीतिक दलहरूको ‘कार्यशैली तथा बेथितिप्रतिको वितृष्णाको उपज’ भनिरहेका छन् । तर यो तर्कलाई राजनीतिक दलका नेताहरू खारेज गरिरहेका छन् ।
प्रदर्शनमा भारतीय मोटरसाइकल
नेपालमा बेलाबेला हुने प्रदर्शनमा विदेशी हस्तक्षपको आरोप लाग्ने गरेको छ । राजनीतिक परिवर्तनमासमेत विदेशी चासो र सहभागीता रहने कुरा विगतका कतिपय आन्दोलनले समेत पुष्टि गरेका छन् । जस्तो तराई आन्दोलनमा पनि व्यापक रुपमा भारतीहरुको पनि सहभागिता रहेको देखाएको थियो ।
अहिले राजावादीहरुले गरिरहेको प्रदर्शनमा पनि भारतीय नम्बर प्लेटका सवारी पनि सहभागी भएको पाइएको छ । कोरोना महामारीका कारण सीमा बन्दजस्तै छ । अत्यावश्यकबाहेकका सवारी आवतजावतमा रोक लगाइएको छ । तर पूर्वमा भएको राजावादीको प्रदर्शनमा व्यापक रुपमा भारतीय नम्बरका सवारी प्रयोग भएको पाइएको छ ।
प्रदर्शनमा भारतीय नम्बरका सवारी सहभागी फोटोसमेत केटीएम दैनिकले प्राप्त गरेको छ । झापामा राप्रपाले गरेको आन्दोलनमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग बढी भएको पाइएको हो । झापाको काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर यात्रामा धेरै भारतीय नम्बर प्लेटका मोटरसाइकल र्यालीमा सहभागी देखिए ।
रास्ट्रिय नागरिक आन्दोनल्न भनेर प्रदर्शन भएको र्यालीमा भारतीय मोटरसाइकल प्रयोग गरिएका छन् भने केही भारतीय धार्मिक गुरु पनि प्रदर्शनमा सहभागी रहेको पाइएको छ । नेपाली झण्डा र राष्ट्रियताको नारा लगाउँदै सीमा नाका बन्द भएको समयमा भारतीय मोटरसाइकल कसरी नेपाल आइपुगे ? राजावादीको प्रदर्शनमा उनीहरु किन सहभागी भए ? उनीहरु के चाहन्छन् ? उनीहरु संगठित रुपमा आएका हुन् वा एक्लाएक्लै ? यसको उत्तर कि उनीहरुलाई थाहा होला कि त राजावादीहरुले जानुन् । यसले राजावादीको आन्दोलनमा भारतीय घुसपैठ प्रष्ट पारेको छ । राजावादीहरुले यसलाई अझैं प्रष्ट पारुन् ।
भारतीय मोटरसाइकलको प्रयोगबारे सांसद् राजेन्द्र लिङ्देनको प्रतिक्रिया
मंसिर २० गते झापाको काँकडभिट्टादेखि बिर्तामोडसम्म भएको शक्ति प्रदर्शनमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको प्रयोगबारे सासंद लिङ्देनले प्रतिक्रिया दिएका छन् । केटिएम दैनिकसँग संक्षिप्त कुराकानी गर्दै लिङ्देनले भने “दक्षिणी सिमा क्षेत्र पाठामारी, केचनाबाट २० जनाभन्दा धेरै मौलवि(धार्मिक शिक्षक)हरु रयालीमा सहभागी थिए । अधिकांशले भारतीय नंको सवारी प्रयोग गरेका थिए भने काँकडभिट्टाका केही युवाले पनि संधै आफैले प्रयोग गर्ने भारतीय नम्वरको मोटरसाइकल प्रयोग गरेका हुन ।”