काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय (ओडिआई) अलराउन्डर वरियतामा थप सुधार गर्दै तीन स्थान माथि उक्लिएका छन् ।
आईसीसीले मंगलबारसम्मको तथ्यांक अद्यावधिक गर्दै बुधबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार ऐरी २५औँ स्थानमा पुगेका छन् । यससँगै उनको रेटिङ अंक १५९ कायम भएको छ ।
गत साता उनी ३१औँ स्थानबाट २८औँ स्थानमा पुगेका थिए । त्यसबेला उनको रेटिङ १५३ थियो, जसको तुलनामा हाल ६ अंक वृद्धि भएको देखिन्छ ।
हालै घरेलु मैदानमा सम्पन्न आईसीसी लिग-२ शृङ्खलामा उनले देखाएको प्रदर्शनले वरियतामा सुधारमा योगदान पुगेको बताइएको छ । ओमान र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा उनले दुई अर्धशतक र एक शतकसहित उल्लेखनीय प्रदर्शन गरेका थिए भने बलिङतर्फ चार विकेट पनि लिएका थिए ।
यस्तै हाल जारी नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा पनि उनको प्रदर्शन निरन्तर प्रभावकारी रहेको छ । स्कटल्यान्डविरुद्ध पहिलो खेलमा उनले ५५ रन जोडेका थिए । अमेरिकाविरुद्धको खेलमा चार विकेट लिएका उनले ब्याटिङ गर्ने अवसर भने पाएनन् । स्कटल्यान्डसँगै सोमबार भएको खेलमा उनले ब्याटिङमा दुई रन मात्र बनाए पनि बलिङतर्फ एक विकेट हात पारे ।
टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा भने ऐरी चौथो स्थानमै यथावत् छन् ।
यसैबीच, अलराउन्डर वरियतामा अन्य नेपाली खेलाडीहरूको पनि सुधार देखिएको छ । सन्दीप लामिछाने तीन स्थान माथि उक्लँदै ६८औँ स्थानमा पुगेका छन् भने ललित राजवंशी १२ स्थान सुधार गर्दै ७६औँ स्थानमा पुगेका छन् ।
त्यस्तै गुल्शन झा १५ स्थान माथि उक्लिएर ८७औँ स्थानमा पुगेका छन् भने करण केसी ५ स्थान तल झरेर ८९औँ स्थानमा पुगेका छन् ।